‘कृषिको समाजवादी रुपान्तरण’ नामक पुस्तक केही समय अगाडि सार्वजनिक भएको छ । नेपालको संविधानले नै अबको हाम्रो यात्रा समाजवादको आधार निर्माण गर्नेतर्फ दिशानिर्देश गरेको तथा संविधान अनुरुप खाद्य अधिकार र खाद्य सम्प्रभुताको कानुन लागु गर्नुपर्ने, वास्तविक भूमिसुधार गुर्नपर्ने तथा किसान अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा कृषि विकासका नीति र कार्यक्रम संविधान विपरीत हुन सक्दैनन् । त्यसैले साना किसानमैत्री पर्यावरणीय कृषि, खाद्यसम्प्रभुता प्राप्ति र किसानको समृद्धि भन्ने नारालाई आत्मसात गर्दै कृषि विकासको समाजवादी रुपान्तरणमा सहयोग पुराउने अभिप्रायका साथ युवा किसान नेता प्रमेश पोखरेलको यो पुस्तक बजारमा आएको देखिन्छ ।
नेपाल मात्र नभई धेरै देशमा अहिले कृषि क्षेत्र र साना किसानले विभिन्न चुनौतीको सामना गर्दैछन् । यसको प्रमुख कारण पुँजीवादी व्यवस्था र यसको मुनाफामुखी चरित्र नै हो । बहुराष्ट्रिय निगम, विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय वित्तीय संस्था लगायतका पुँजीवादका विविध प्रभावका कारण कृषि क्षेत्र तहसनहस बन्दैछ । स्रोत र साधनको अतिक्रमण, निजीकरण र विनास, किसानको विस्थापन तथा कृषिमा रसायन र विषादीको प्रकोप केही उदाहरण हुन् । नेपालमा पनि यसको छरपष्ट प्रभाव देखिइरहेको छ । साना किसानको बाहुल्यता भएको नेपालमा साना किसानमैत्री पर्यावरणीय कृषि तथा खाद्य सम्प्रभुताको दिशामा अघि बढ्नुपर्नेमा वुर्जुवा शिक्षा, सांस्कृतिक प्रभुत्ववाद तथा आधुनिकताको प्रभावमा गलत नीति तथा कार्यक्रमबाट प्रभावित हुँदा हामी आज अधोगतितर्फ लागेका छौं । अझ विना कुनै वर्ग विष्लेषण तथा परिस्थितिको बुझाइ आयातित आधुनिकता, हरित क्रान्ति, औद्योगीकरण र
बृद्धि सिद्धान्तका असफल एजेण्डाले हाम्रा राजनीतिज्ञ र कर्मचारीतन्त्र ग्रसित देखिन्छ । यो अवस्थामा प्रस्तुत पुस्तकले एउटा बहसको सुरुवात गर्ने जमर्को गरेको छ ।
बृद्धि सिद्धान्तका असफल एजेण्डाले हाम्रा राजनीतिज्ञ र कर्मचारीतन्त्र ग्रसित देखिन्छ । यो अवस्थामा प्रस्तुत पुस्तकले एउटा बहसको सुरुवात गर्ने जमर्को गरेको छ ।
पुस्तकमा ४० वटा विविध विषयहरु समावेश छन् । सुरुका ५ शीर्षक विगत र वर्तमान परिस्थितिको बुझाई तथा विष्लेषणमा आधारित छन् । नेपालको कृषिको समस्या र चुनौतिको चर्चा गर्दै यहाँ कृषि विकासको ठूलो संभावना भएको कारणहरु पस्किएको छ । त्यसैगरी नेपालको वामपन्थी किसान आन्दोलन, सरकारी आन्दोलन र भूमिसुधारको प्रयासको संक्षिप्त व्याख्या गर्दै सहकारीमार्फत चक्लाबन्दी गर्दै कृषिको विकास गर्नुपर्ने तथा कृषिको आधुनिकीकरण, आद्योगिकीकरण र व्यापारीकरण साना किसान मैत्री नारा नभएको कुरा पछिका शीर्षकमा रहेको छ ।
कृषि क्षेत्रका सरोकारवालाहरुले मुख्य गरी अभियन्ता तथा नीति निर्माताले जान्नै पर्ने विषयहरु जस्तै रसायनिक मल, जैविक मल, विषादी, जलवायु परिवर्तन, आनुवांशिक र ठिमाहा बिउ, भूमि अतिक्रमण, नवउदारवाद, विश्व व्यापार संगठन, प्राङारिक कृषि, मूल्य श्रृङखला, कृषि विमा, खाद्य अधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, पर्यावरणीय कृषि आदि विषयसँग सम्वन्धित जानकारी र तिनका आयामको प्रस्तुति त्यस पछिका शीर्षकहरुमा रहेको छ ।
त्यसैगरी ओझेल परेका विषयहरु जस्तै नेपालको पशुपालन क्षेत्र, यसको संभावना, नेपालमा दुग्ध उत्पादनको अवस्था र चुनौति, कृषिमा महिलाकरणको प्रकृया, दलित भुमिहीनताको विष्लेषण आदि विषयलाई जोड दिइएको छ । वर्तमान विश्व परिस्थीति, समाजवादी किसान आन्दोलन, अन्तर्राष्ट्रिय किसान आन्दोलनका उपलब्धीको चर्चा तथा विश्वव्यापीकरणको चपेटामा किसान आन्दोलनको उभार पनि समेटिएको उक्त पुस्तकको अन्तिम भागमा किसान आन्दोलन र कृषि विकासको सेरोफेरोका विविध विषयहरु छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किसान सञ्जाल, आइफाड र एफएओ जस्ता निकायहरु तथा एडिएस तथा किसान अधिकार घोषणापत्र जस्ता विषयहरु समावेश गरिएका छन् ।
पुस्तकमा जम्मा २१८ पृष्ठ र ४० शीर्षक रहेका छन् र यसको मूल्य रु ३०० तोकिएको छ । पुस्तक अद्वैतमार्गको जागरण बुक हाउस लगायतका विभिन्न पुस्तक पसलहरूमा पाइने लेखकको भनाई रहेको छ ।
First Published on 30 Nov 2019